मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ६ । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा आज नेपाल पाकिस्तानसँग भिड्दैछ ।
सिरिजअन्तर्गत समूह चरणको अन्तिम अर्थात् छैटौं खेलमा नेपालले पाकिस्तान शाहिन्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । यो खेल नेपाली समयअनुसार शुक्रबार दिउँसो ३ः१५ बजे शुरू हुनेछ ।
जारी शृंखलामा नेपालले यसअघि लगातार दुई खेल जितेको छ । शुरूका तीन खेल हारेको नेपालले चौथो खेलमा होबर्ट हरिकेन्सलाई र पाँचौ खेलमा मेलबर्न रेनेगेड्स एकेडेमी हराएको थियो । नेपाल पहिलो खेलमा आयोजक टोली नर्दन टेरिटोरी स्ट्राइससँग, दोस्रो खेलमा बङ्गलादेश ‘ए’ सँग र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग पराजित भएको थियो ।
प्रतियोगितामा ११ वटा टोली छन् । सहभागी हरेक टोलीले लिग चरणमा छ वटा खेल खेल्ने छन् । टप एण्ड टी–२० शृङ्खलापछि अस्ट्रेलियामै नेपालले अभ्यास खेल पनि खेल्नेछ । शृंखलामा नेपाली टोलीले कुल पाँच खेल खेल्नेछ ।