मिडियाबाजी डटकम काठमाडौँ असाेज ३ । दशैँ नजिकिँदै गर्दा हिमाली क्षेत्रमा पालिएका भेडाच्याङ्ग्रा बजार झर्न थालेका छन्।
किसान तथा व्यापारीहरू भेडाच्याङ्ग्राको बथान लिएर देशका विभिन्न बजार आइपुगेका हुन्।
मुस्ताङबाट बेनी-जोमसोम सडक भएर म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरीमा ल्याइएका भेडाच्याङ्ग्रा ट्रक र कन्टेनरमा राखेर पोखरा, काठमाडौँलगायत ठूला सहरमा ढुवानी गर्न थालिएको छ। नेपाल चौपाया खरिद बिक्री सङ्घका संस्थापक अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बिहीबारसम्म एक हजार ३०० भेडाच्याङ्ग्रा काठमाडौँ पठाइएको र थप एक हजार ७०० पठाउने क्रममा रहेको जानकारी दिए।
‘दशैँका लागि काठमाडौँ, पोखरा, चितवन र बुटवलका बजारमा आउने भेडाच्याङ्ग्राको मुख्य स्रोत मुस्ताङ, जुम्ला र डोल्पा हो’, बीस वर्षदेखि भेडाच्याङ्ग्राको व्यापार गर्दै आएका श्रेष्ठले भने, ‘तातोपानी र रसुवानाका बन्द भएकाले ठूला शहरमा यसपालि मुस्ताङी भेडाच्याङ्ग्रामात्र झरेका छन्।’
मुस्ताङको लोमान्थाङ गाउँपालिका९३ नामग्यालबाट ४६५ वटा भेडाच्याङ्ग्रा पैदल हिँडाएर ल्याएको श्रेष्ठको टोली बिहीबार म्याग्दीको बैसरी आइपुगेका छ। डोल्पाको काइके गाउँपालिका(२ शहरताराका सञ्जय बुढाले २५ दिनको पैदलयात्रा गरेर १६० वटा च्याङ्ग्रा बेच्न पोखरा हिँडेको बताए।