मिडियाबाजी डटकम काठमाडौँ , माघ १० । सहकारी ठगी मुद्दामा बयान दिन पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बुधबार परिवारको जिम्मा लगाइएकोमा सरकारी वकिलले आपति जनाएका छन् । बहसका क्रममा वादी (पीडित) तर्फबाट बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अभियुक्त लामिछानेलाई प्रहरी हिरासतमा किन नराखिएको भन्दै प्रश्न गरेका हुन् । अधिवक्ता त्रिपाठीले अभियुक्त लामिछानेलाई हिरासतमै राखेर थुनछेक बहस गर्नुपर्नेलगायत विषयमा बहस गरेको स्रोतले जनायो ।
यसअघि सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतले बयान सकिएकै दिन थुनछेक नभएपछि लामिछानेलाई न्यायिक हिरासतमा पठाएको थियो । बुधबार मुद्दामा लामिछानेको बयान सकिएपछि बिहीबार बिहान साढे १० बजे हाजिर हुने गरी परिवार र कानुनी व्यवसायीको जिम्माजमानीमा उनलाई छाडिएको थियो । बयानका लागि आएको प्रतिवादीलाई परिवारको जिम्मा लगाएबाट न्यायाधीशको एक किसिमको मानसिकता झल्किएको भन्दै सरकारी वकिलहरूले न्यायाधीश योगीले रविको मुद्दा रेक्युजल (नहेर्ने) गर्नुपर्ने बताएका थिए ।