डुब्न लाग्दा अनेकौं आश्वासन, डुबेपछि सबै मौन !

  ६ घण्टा अगाडि

रुषा थापा_________

मिडियाबाजी डटकम काठमाडौँ, साउन २७ । कर्णाली डेभलपमेण्ट बैंक डुबेको वर्ष बितिसकेको छ ।

तर, अहिलेसम्म बचतकर्ताले आफ्नो निक्षेप फिर्ता पाएका छैनन् । अन्य बैंक पनि डुब्न लागिसके । सरकारी होस् या प्राइभेट । बैंकमा संकट आइसक्यो । बैंकमात्र होइन, नागरिक लगानी कोष,, सञ्जय कोष, बीमा कम्पनीहरु पनि डुब्ने अवस्थामा पुगेका छन् ।

पाँच वर्षअघि सहकारी डुब्न थाल्यो, भाग्न थाल्यो । सहकारीसँगै लघुवित्त र फाइनान्स पनि डुब्न र भाग्न थाले । ३५ हजार २३९ वटा सहकारीले करोडौं बचतकर्ताको ४३ खर्ब पैसा खाइदिएको छ । शुरुमा सहकारी डुब्न थाल्दा सहकारी महासंघ, सहकारी विभाग, सहकारी मन्त्रालयलगायतले यो भ्रम मात्र हो, सहकारी डुब्दैन भन्दै जनतामा भ्रम फैलाए । सोझासाझा जनताले त्यसमा विश्वास गरे । अहिले त्यसैको परिणाम भोगिरहेका छन् । समयमै सहकारीमा भएको रकम ननिकाल्दा उनीहरु चुलुम्मै डुबेका छन् । लघुवित्त र फाइनान्समा बचत गर्नेहरुको पनि यस्तै हालत भयो । वित्तिय संस्था डुबेसँगै बैंक पनि डुब्ने चर्चा व्यापक बन्यो । बजारमा जताततै बैंक पनि छिट्टै डुब्ने भनेको सुनिन्थ्यो ।

सहकारी डुब्दा राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी थिए । उनी भन्थे, ‘बैंक डुबेमा जनताको पैसा सरकारले फिर्ता गर्छ ।’ अनि कर्णाली बैंक डुबेको वर्ष बितिसक्दा पनि बचतकर्ताले किन आफ्नो निक्षेप फिर्ता नपाएको त ? अधिकारीले आफ्नो पद जोगाउन जनतालाई फसाए । अहिले उनी गर्भनरको कार्यकाल सकी घरमा बसेका छन् । तर, उनका कारण थुप्रै जनताको निक्षेप जोखिममा परेको छ । झुटा आश्वासनमा पर्दा जनता यता न उताका भएका छन् । अनि यसको जिम्मा कसले लिने ? पूर्वगर्भनर अधिकारीले कि सरकारले ? पछिल्लो समय नेपाल राष्ट्र बैंकले बजारबाट धमाधम तरलता तानिरहेको छ । दिनैपिच्छे बैंकबाट अर्बौ रकम राष्ट्र बैंक तानिरहेको हुन्छ ।

बैंकको पैसा राष्ट्र बैंकले तानिरहँदा बैंकहरु भने बचतकर्तासँग तीनदेखि ६ प्रतिशतसम्म ब्याजको लोभमा पैसा लिइरहेका छन् । यसरी जनतासँग तीनदेखि ६ प्रतिशत ब्याजमा लिएको रकम राष्ट्र बैंकले दुई प्रतिशत ब्याज दिन्छ । अब भनौं बैंक संकटमा छ कि छैन ? बैंकको आफ्नै मासिक खर्च करोडौं छ । घरभाडा, कर्मचारीलाई तलब, दैनिकी खर्च र राज्यलाई राजस्व तिर्नैपर्यो । अनि कर्जा नै नगएपछि बैंकको आम्दानी कहाँबाट हुन्छ त ? बैंकको आम्दानीको स्रोत भनेकै कर्जा हो । बचतकर्तासँग पैसा लिने, अर्कोलाई दोब्बर·चौब्बर ब्याजमा दिने काम बैंकले गर्दै आएको छ । कर्जा दिँदा घुस, सेवासुविधा, ब्याजकै रकमले बैंकले सबै खर्च धान्ने गर्छ । तर, अहिले अवस्था फेरिएको छ । पहिले घुस र पहुँचको आडमा बल्लतल्ल कर्जा पाइनेमा आजकल बैंकले सस्तो ब्याजमा ऋण दिन्छुभन्दा समेत कोही पनि गइरहेका छैनन् ।
बैंकबाट राष्ट्र बैंकले तानेको पैसा सरकारले समेत प्रयोग गर्नसक्छ । केही गरी विदेशीले ऋण नदिएमा, कर्मचारीलाई तलब। सेवासुविधा दिन नसकेमा वा राजस्व नउठेमा सरकारले बैंककै पैसा चलाउन सक्छ । नेपाल सरकारले विभिन्न देशसँग २९ खर्ब ४२ अर्ब ऋण लिइसक्यो । अबको दुई वर्षमा यो दोब्बर हुनेछ ।

देशभित्रै सरकार ऋणैऋणमा छ । बक्यौता भुक्तान दिनुपर्ने लिस्ट निकै लामो छ । निर्माण व्यवसायीको ४५ अर्ब, दुध तथा उखु किसानको सात अर्ब र कोरोना बीमा गराएका अस्पतालको २४ अर्ब भुक्तानी दिन बाँकी छ । राज्य कंगाल छ । पैसा नभएपछि उखु किसानलाई दिँदै आएको अनुदानसमेत काटियो । राजस्व उठ्न छोडेको छ । सरकारी खर्च दिनहुँ बढ्दो छ ।

अब प्रश्न उठ्छ, ‘सरकारले कर्मचारीलाई कहाँबाट पैसा ल्याएर तलबभत्ता, सेवासुविधा दिन्छ ? सुरक्षाकर्मी कसरी पाल्छ ? कुन पैसाले विकास निर्माण गर्छ ? जनप्रतिनिधिहरुलाई कहँबाट तलब खुवाउँछ ? विदेशी ऋण कसरी तिर्छ ? कैदीबन्दीलाई कसरी पाल्छ ? निर्माण व्यवसाय, दुध तथा उखु किसान र कोरोना बीमाको बक्यौता कसरी तिर्छ ? सरकारी दैनिक खर्च कसरी धान्छ ?’

देउवा, ओली र प्रचण्ड जहाँ पुगेपनि भन्ने गर्छन्, ‘हामीले नेपालमा लोकतन्त्र गणतन्त्र ल्याएऔं ।’ तर, नेपाली भूभाग छिमेक भारत र चीनलाई बेच्यौं, विदेशमा नेपालीले रगतपसिना बगाएर कमाएको पैसा खायौं, देशलाई विदेशीको जिम्मा दियौं भनेर चाँहि स्वीकारर्दैनन् । दार्जेलिङ, सिक्किम, टकनपुर, कोलकत्ता, कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत भूभाग नेपाली रहेकोमा हाल भारत र चीनको भनि परिचित छ ।

यी भूभाग कतिमा बेचियो त ? देउवा, ओली र प्रचण्ड बताउँदैनन् । मातृभूमि त बेचेर खानेहरुले विदेशी ऋण र जनताको करमा मोजमस्ती गर्नु कुनै नौलो कुरा भएन । देशभित्रै रहेका सरकारी, सार्वजनिक, गुठी, ऐलानी, मठमन्दिरलगायतका जग्गा यी तीन नेताले आफ्ना कार्यकर्तालाई पोसे । सरकारी सम्पत्ति सबै व्यक्तिको नाममा लगे । आफू भने जनताको करबाट मोजमस्ती गरिरहेका छन् । कसले जनताको करमा मोज गर्ने भनेर तीन जनाबीच प्रधानमन्त्री बन्न जहिल्यै हानाथाप नै चल्छ । गणतन्त्रपछि देशमा पटकपटक प्रधानमन्त्री बन्ने यिनीहरु नै हुन् । यिनीहरुकै कारण आज मुलुकको यो दुरदशा भएको हो । अहिले बैंक डुब्छ भन्ने चर्चा बजारमा व्यापक छ । मानिसहरुले पाँच सय र हजारको नोट घरमा लुकाउन थालेका छन् । बैंकमा कर्जा माग्न कोही जाँदैनन् भने ऋण लिएकाहरु पनि तिर्न नसक्ने अवस्थामा छन् । उनीहरुले धितो लिलाम गर्नुस्, ऋण तिर्न सक्दैनौं भनिसके । यता, धितो लिलाम गरेपनि बिक्री हुँदैन । जसले बैंकलाई थप संकटमा पारेको छ ।

धितोको मूल्य लगातार घटिरहेको छ । बैंकले करोड असुल्न बाँकी हुँदा धितोको मूल्य भने लाखमा झरेको छ । घरजग्गा, गाडी र सेयरको मूल्य बढ्दो छ । यो क्षेत्रमा अधिकांशले गरेको लगानी बालुवामा पानी बराबर बनेको छ । बजारमा घरजग्गा, गाडी र सेयर बेच्न चाहने थुप्रै भेटिन्छन् तर किन्न खोज्ने चाँहि एउटै भेट्दैनन् । ९५ प्रतिशत जनताले घरजग्गा, गाडी र सेयर धितो राखेरै बैंकबाट ऋण लिएका छन् । उनीहरु ऋण तिर्न नसक्ने अवस्थामा पुगेका छन् । जग्गाको मूल्य भूमाफिया र दलालहरुले बढाएका थिए । भक्तपुरको राधेराधेकै कुरा गर्ने हो भने २०४७ सालसम्म रोपनीको ३० हजारमा बिक्री नहुने जमिन ०७८ मा आनाकै ६० लाखदेखि करोडौंमा बेचियो ।

एक रोपनी जग्गामा १६ आना हुन्छ । राधेराधे गहिरो छ । सानो पानी पर्नेबित्तिकै यो ठाउँ डुबिहाल्छ । अहिले बल्ल यहाँ जग्गा किन्नेहरुले यो कुरा बुझेका छन् । तर, ढिलो थाहा पाउँदा उनीहरु चुलुम्मै डुबे । अर्को कुरा, यो ठाउँका धेरै सरकारी, सार्वजनिक, गुठी, ऐलानी, आर्यघातको जग्गा व्यक्तिको नाममा गएको स्थानीय बताउँछन् ।

०८१ असोज १०, ११ र १२ गते उपत्यकासहित देशभर वर्षा भयो । भक्तपुरको राधेराधे पूरै डुबेको थियो । त्यहाँका घरधनीहरु घरमा बस्न नसकेपछि अन्यत्र बस्नुपर्यो । भाडामा बस्नेहरुको पनि बिजोग भयो । अहिले यो एरियामा न भाडामा बस्न कोही मान्छन् न घरजग्गा किन्छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर