मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ५ । अमेरिकाको संघीय पुनरावेदन अदालतले ट्रम्प प्रशासनका पक्षमा आदेश दिँदै झण्डै सात हजार नेपालीको टेम्पोररी प्रोटेक्टेड स्टेटस (टीपीएस) सुविधा तत्काल अन्त्य गर्न अनुमति दिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो देशमा बसिरहेका नेपालीले यही अगस्ट ५ सम्म मात्र टीपीएस सुविधा पाउने निर्णय गर्दै देश छाड्ने तयारी गर्न भनेको थियो । अदालतले अनुमति दिएसँगै यो म्याद सकिएका सात हजार नेपालीलाई अमेरिकाले देश निकाला गर्ने सम्भावना देखिएको छ ।
अमेरिकाको संघीय पुनरावेदन अदालतले नेपाल र मध्य अमेरिकाका झण्डै ६० हजार आप्रवासीका लागि टीपीएस सुविधा कायम राख्ने तल्लो अदालतको आदेशलाई हालका लागि रोक लगाएको हो । पुनरावेदन अदालतको आदेशसँगै ५१ हजार होन्डुरन र ३ हजार निकारागुआनहरूको टिपीएस सुविधा पनि सेप्टेम्बर ८ मा समाप्त हुने तय भएको छ।
यसअघि अमेरिकाको संघीय अदालतले मध्यअमेरिकी देशसहित नेपालका नागरिकले पाइरहेको टीपीएस सुविधा अदालती प्रक्रिया रहँदासम्म निरन्तर कायम गर्न आदेश दिएको थियो ।
‘जिल्ला अदालतले वादीहरूको आवेदन स्थगन गर्ने प्रस्ताव २०२५ जुलाई ३१ मा दिएको आदेशलाई यस अदालतको अर्को आदेश नआउन्जेलसम्मका लागि स्थगन गरिएको छ’, डेमोक्र्याट बिल क्लिन्टन र रिपब्लिकन जर्ज डब्लु बुस र डोनाल्ड ट्रम्पका नियुक्त न्यायाधीशहरूले आदेशमा लेखेका छन् ।