जाजरकोट भूकम्प : आठबिसकोटका चार हजारले पाए पहिलो किस्ता

  पुष ०२, २०८०

मिडियाबाजी डटकम काठमाडौं, पौष २ । गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्‍याएको रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा चार हजार दुई सय ८२ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् । आठबिसकोटमा सात हजार लाभग्राही रहेका थिए ।

लाभग्राहीको खातामा रु २५ हजारका दरले पहिलो किस्ताबापतको रकम जम्मा भएको छ । अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापत रु २५ हजारका दरले लाभग्राहीलाई रु १० करोड ७० लाख ५० हजार खातामा पठाएको आठबिसकोट नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिए । उनका अनुसार जिल्ला विपद् व्यवस्थापन कोषबाट भने सात हजार लाभग्राहीका लागि पहिलो किस्ताबापत रु १७ करोड ५० लाख रकम प्राप्त भएको छ । जिल्ला विपद् व्यवस्थापन कोषबाट प्राप्त भएको बाँकी रकम पनि लाभग्राहीको बैंकमा खाता सञ्चालन हुने बित्तिकै पठाइने शाहले जानकारी दिए ।

नगरपालिकामा अस्थायी आवास निर्माण गर्न नौ हजार नौ सय ६२ लाभग्राहीको सङ्ख्या यकिन भएको छ । जिल्ला विपद् व्यस्थापन कोषबाट पहिलो किस्ताबापत अझै दुई हजार नौ सय ६२ लाभग्राहीको लागि रकम आउन बाँकी रहेको प्रशासकीय अधिकृत शाहले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

थप खबर