कुवेतमा विषाक्त मदिरा प्रकरण : मृत्तक नेपालीको ल्याउन थालियो, सात जना अझै आइसीयूमा 

  ६ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ७ ।  कुवेतमा गत साता विषाक्त मदिरा सेवन गरी मृत्यु हुनेमध्ये पाँच जनाको शव काठमाडौं आइपुगेको छ ।

‘हामीले मृत्यु हुनेमध्ये पाँच जनाको शव काठमाडौं पठाएका छौँ । ती शव बिहीबार काठमाडौं पुगिसकेको छ’, कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी गिरिप्रसाद आचार्यले जानकारी दिए । गत साता कुवेतमा विषाक्त मदिरा सेवन गरी अशक्त बनेका १६० बढी एसियाली नागरिक अस्पताल भर्ना भएका थिए । तीमध्ये ५० जना बढी नेपाली थिए ।

विषाक्त मदिरा सेवनका कारण २३ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमध्ये १२ जना नेपाली रहेको पुष्टि भएको कुवेतको गृह मन्त्रालयले त्यहाँस्थित नेपाली दूतावासलाई जानकारी दिएको छ । नेपाल पत्रकार महासंघको कुवेत शाखाले भने विषाक्त मदिरा सेवन गर्दा १६ नेपालीको मृत्यु भएको जनाएको थियो ।

‘कुवेत सरकारले हालसम्म १२ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ । यीमध्ये पाँच जनाको शव हामीले पठाएका हौँ । बाँकी सात जनाको शव आउँदो साता काठमाडौं पठाउँछौँ’, श्रम सहचारी आचार्यले भने ।

श्रम सहचारी आचार्यका अनुसार, विषाक्त मदिरा सेवन गरी अशक्त बनेका १३ जना अझै कुवेतका विभिन्न अस्पतालमा उपचारत छन् । यीमध्ये सात जनाको आईसीयूमा, केहीलाई भेन्टिलेटर र केहीको वार्डमा उपचार भइरहेको छ ।

एनआरएनका अधिकारीहरूका अनुसार मदिरा सेवनपछि विरामी परेर अस्पतालबाट डिस्चार्ज भएकाहरू डिपोर्ट हुन थालेका छन् । केही नेपालीलाई उपचारपछि आवश्यक अनुसन्धान गरेर नेपाल पठाईएको एनआरएन कुवेतका महासचिव धामीले बताए ।

त्यस्तै अन्यलाई समेच उपचारपछि डिस्चार्ज भएकाहरूलाई आवश्यक अनुसन्धान गरेर डिपोर्ट गर्ने तयारी छ । नेपालीहरू मात्र नभई उक्त घटनामा संलग्न सबैलाई गम्भीर खालको अपराध नदेखिएको खण्डमा डिपोर्ट गरिने कुवेती सञ्चारमाध्यमहरूले जनाएका छन् ।

‘मेथानोल’ नामक घातक रसायन मिसिएको अवैध मदिरा सेवनका कारण १६० जनाभन्दा बढी विरामी परेका थिए । कुवेती स्वास्थ्य मन्त्रालयका अनुसार, यस घटनामा हालसम्म नेपाली, भारतीय, बंगलादेशीसहित विभिन्न देशका २३ जना आप्रवासी कामदारको मृत्यु भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर