मिडियाबाजी डटकम काठमाडौं ,माघ २४ । काठमाण्डौको मातातीर्थमा २२०/१३२ केभीको सबस्टेशन निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणले मर्स्याङ्दी–काठमाण्डौ प्रसारण लाइन आयोजनाअन्तर्गत त्रिशूली र मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाहरूको बिजुली काठमाण्डौ उपत्यकामा आपूर्ति गर्न चन्द्रागिरि नगरपालिकको मातातीर्थमा सबस्टेशन बनाएको हो ।
सबस्टेशनबाट देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृढ बनाउन सहयोग पुग्ने प्राधिकरणले जनाएको छ । अब काठमाण्डौ उपत्यकामा बिजुली आपूर्तिका लागि मातातीर्थ सबैभन्दा ठूलो सबस्टेशन हब बनेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेशनबाट बिजुली आपूर्ति हुन थालेपछि काठमाण्डौ उपत्यकाको बिजुली आपूर्ति थप पर्याप्त, भरपर्दो र गुणस्तरीय हुने बताए ।
मर्स्याङ्दी–काठमाण्डौ र त्रिशूली–काठमाण्डौ प्रसारण लाइनलाई बाडभञ्ज्याङमा एकआपसमा आबद्ध गरी मल्टिसर्किट लाइनमार्फत मातातीर्थ सबस्टेशनमा समाहित गरिएको छ ।