काठमाडौं उपत्यकाबाट तीन दिनमा एक लाख ५० हजार यात्रु बाहिरिए

  असोज २९, २०८०

मिडियाबाजी डटकम काठमाडौं,आश्विन २९ ।  नेपालीहरूको महान् पर्व दसैँ मनाउनका लागि तीन दिनमा एक लाख ५० हजार यात्रुले काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । घटस्थापनादेखि नै अधिकाशं विद्यालय, कलेज र संघ संस्था बन्द भएपछि दसैँ मनाउनका लागि यात्रु जन्मघर जान थालेका हुन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पछिल्लो तीन दिनमा एक लाख ५० हजार ३०९ यात्रु उपत्यकाबाट बाहिरिएको जानकारी दिए । उनका अनुसार असोज २७ बिहान ६ बजेसम्म ४७ हजार ६४३, असोज २८ गते बिहान ६ बजेसम्म ५१ हजार २७९ र आज बिहान ६ बजेसम्म ५१ हजार ३८७ यात्रु बाहिरिएका छन् ।

ट्राफिकले अघिल्लो दिन बिहान ६ बजेदेखि भोलिपल्ट ६ बजेसम्मको रेकर्ड राख्दै आएको छ । ट्राफिक प्रहरीले उपत्यका बाहिरिने यात्रुको सहजताका लागि काठमाडौं उपत्यकाभित्रका १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेको छ ।

चाडपर्वको यातायात सहजताका लागि ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाभित्र एक हजार ८०० जनशक्ति परिचालन गरेको प्रवक्ता भट्टले बताए ।
काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कमासमेत घर जाने यात्रुको भीड लागेको छ । नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिका प्रवक्ता पंकज मल्लले हाल दैनिक २५ हजारभन्दा बढी यात्रु नयाँ बसपार्कबाट बाहिरिन थालेको बताए । सरकारले दसैँको यातायात व्यवस्थापनलाई सहज बनाउनका लागि असोज २६ गते देशैभरका सार्वजनिक सवारी साधनमा रुट परमिटसमेत खुला गरिसकेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर