कर्णाली प्रदेशमा चुनावी खर्च विवरण नबुझाउने ९ हजारभन्दा बढी

  भदौ १०, २०७९

मिडियाबाजी डटकम काठमाडौं,भाद्र १०। निर्वाचन सम्पन्न भएको तीन महिना बितिसक्दासमेत कर्णालीका नौ हजार बढी उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् । गत वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गराएका १२ हजार आठ सय ४७ मध्ये नौ हजार चार सय छ जनाले खर्च विवरण नबुझाएको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ मा निर्वाचन प्रचार–प्रसार खर्चसम्बन्धी व्यवस्था छ ।

उक्त ऐनमा निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आयोगले तोकेको कार्यालयसमक्ष पेश गर्नुपर्ने उल्लेख छ ।कर्णालीमा हालसम्म तीन हजार चार सय ४१ जनाले मात्रै खर्च विवरण बुझाएका छन् । तर कर्णाली प्रदेशका १० जिल्लाका ७९ वटा स्थानीय तहमा मनोनयन दर्ता गराई निर्वाचन प्रतिस्पर्धामा भाग लिएका अधिकांश उम्मेदवारले खर्च विवरण पेश गरेका छैनन् ।

स्थानीय तहमा उम्मेदवार बनेका सुर्खेतका दुई हजार ४८ जनामध्ये पाँच सय ८६, दैलेखका एक हजार सात सय ६५ मध्ये नौ सय ४१, जाजरकोटका एक हजार दुई सय तीनमध्ये पाँच सय ५३ र कालिकोटका एक हजार आठ सय ४६ मध्ये एक सय ४८ र रुकुमपश्चिमका नौ सय दुईमध्ये छ सय २३ जनाले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरण पेश गरेको बताइएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर