सिबी अधिकारी
काठमाडौं । भारतमा भएको भयानक जहाज दुर्घटनाले विश्व हवाई क्षेत्रलाई स्तब्ध बनाएको छ।
अहमदावादमा बिहीबार भएको एयर इसण्डयाको एआई–१७१ जहाज दुर्घटनाले सम्बन्धित देश र एयरलाइन्सलाई मात्र होइन विश्वलाई नै पुनः एक पटक सोच्न बाध्य पारेको छ । अन्तर्राष्ट्रिय उड्डयन क्षेत्र र हवाई सुरक्षाबारे झस्काएको छ।
जहाजले धावनमार्ग छाडेको केही क्षणमै जमिनमा बजारिएर दुर्घटनाग्रस्त भएको थियो। जहाजमा सवार चालक दलका सदस्यसहित २०० बढी यात्रीको निधन भएको स्थानीय प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै समाचार एजेन्सीहरूले जनाएका छन्। दुर्घटनामा २० देखि २५ स्थानीय मानिसको समेत ज्यान गएको आशंका गरिएको छ । बोइङ ७८७ ड्रिमलाइनर दुर्घटनाका कारण नागरिक उड्डयन क्षेत्रले एक भयानक क्षति बेहोर्नुपर्यो ।
एउटा दुर्घटनाका कारण आफन्त गुमाउने परिवारमा जीवनभरका लागि बज्रपात पर्छ । त्यसबाहेक जहाज सञ्चालन गरिरहेको कम्पनी, जहाज निर्माता कम्पनी, जहाजको नियमन गरिरहेको नियामक निकायले समेत एकसाथ ठूलो क्षति व्यहोर्छन् । छिमेकी मुलुक भारतमा भएको भयानक जहाज दुर्घटनाले नेपालको एभिएसनलाई पनि सोचमग्न बनाएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले भारतमा भएको भयानक जहाज दुर्घटनाले अन्तर्राष्ट्रिय हवाई क्षेत्रलाई नै स्तब्ध बनाएको बताए । ‘जहाज दुर्घटना केकति कारणले भयो भन्ने कुरा अनुसन्धानपछि आउला तर, धेरै समयपछि ठूलो हवाई दुर्घटनाले विश्व हवाई क्षेत्रलाई स्तब्ध पारेको छ। यसले हवाईयात्रीलाई सोचमग्न बनाएको छ।’
नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का पूर्व क्याप्टेन केबी पौडेलले प्राविधिक कमजोरीले एयर इन्डियाको जहाज दुर्घटनाभएको हुनसक्ने पूर्वानुमान गरे । उनले भने, ‘नयाँ जहाज र अनुभवी पाइलटले उडाएकाले अहिले सरसरती हेर्दा मानवीयभन्दा पनि प्राविधिक कमजोरीले हो कि जस्तो देखिन्छ । जहाजको ककपीट भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्डरले दुर्घटनाको यथार्थ बाहिर ल्याउन मद्दत गर्ने छ।’
उनका अनुसार जहाज दुर्घटनाको कारण दुवै इन्जिन फेल भएर वा फ्ल्याप, स्ल्याट अथवा ह्युमन फ्याक्टर हुनसक्छ । नेपालको हवाई क्षेत्रमा खासै असर नपरे पनि सम्बन्धित देश र एयरलाइन्सलाई ठूलो असर गर्ने पूर्वक्याप्टेन पौडेलले उल्लेख गरे। नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतमले ड्रिमलाइनर ठूलो जहाजको पहिलो भयानक दुर्घटनाले विश्व हवाई क्षेत्रलाई स्तब्ध बनाएको बताए। ‘ड्रिमलाइनरको असाध्यै राम्रो रेकर्ड थियो । अहिलेसम्म ड्रिमलाइनरमा मात्रै ‘वान बिलियन प्यासेन्जर फ्लाइ’ गरेको रेकर्ड छ। यो एयरक्राफ्ट आएको १४ वर्ष मात्र भएको थियो । यो अवधिमा ५० लाख जति डिपार्चर भएको हुनुपर्छ ।’ विश्व एभिएसन बजारमा ड्रिमलाइनरको संख्या करिब एक हजार १०० रहेको जनाइन्छ।