एउटै ढुङ्गामा १०८ शिवलिङ्ग र नागसहितको मूर्ति

  श्रावण ११, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, साउन १० । काठमाडौंको चन्द्रागिरि नगरपालिका–५ भुजिङडोलमा एउटै ढुङ्गामा १०८ वटा शिवलिङ्ग १०८ वटै नागसहितको मूर्ति कुँदिएको छ ।

सोही ढुङ्गामा विश्राम गरिरहेका महादेव पनि निर्माण गरिएको छ । महादेवको शिरमा सातमुखे नागले सुरक्षा दिइरहेको आकृति निक्कै सुन्दर बनाइएको छ ।

छेवैमा साँढे र यज्ञ कुण्ड निर्माण गरिएको छ । यहाँ हालै विश्रामेश्वर महादेवको मूर्ति स्थापना गरिएको हो । ‘गाउँमै धार्मिक आयाम थपिएको छ’, विश्वविश्रामेश्वर १०९ शिवलिङ्ग विश्वधाम मन्दिर निर्माण तथा संरक्षण समितिका अध्यक्ष श्यामलाल श्रेष्ठले भने, ‘कतिपयले यो सबै मूर्ति एउटै ढुङ्गामा होइन होला ?, जोडेको होला भनेर शङ्का गर्छन् तर होइन, म आफैले धादिङको जुङ्गे खोलाबाट ल्याएको एउटै ढुङ्गामा मूर्तिकारले यो मूर्ति कुँदेका हुन् ।’

सात तहमा बनाइएको शिवलिङ्गको हरेक तहमा १०८ वटा नाग बनाइएको छ । अध्यक्ष श्रेष्ठले बुबा धनलाल र आमा न्हुच्छेमायाको चाहनाबाट निजी प्रयासमा यो मूर्ति बनाएको र यहाँ मन्दिर निर्माण जारी रहेको बताउनुभयो । मन्दिर निर्माणलगायतमा स्वेच्छिक सहयोग गर्न सकिने श्रेष्ठले बताए । यहाँ रु ३० हजार १०५ सहयोग गर्नेका नाममा एउटा शिवलिङ्ग र आजीवन सदस्य रहने तथा तीन पुस्ताको नाम शिलापत्रमा राखिने जनाइएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर