आमाको स्वघोषणाले सन्तानलाई नागरिकता उपलब्ध गराउने मूल ध्येय छ : गृहमन्त्री लेखक

  ४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन २६।   गृहमन्त्री रमेश लेखकले आमाको स्वघोषणाले सन्तानलाई नागरिकता उपलब्ध गराउने मूल ध्येयका साथ नागरिकतासम्बन्धी कानुनलाई संशोधनअघि बढाइएको बताएका छन्।

आज राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा नेपाल नागरिकता विधयेक २०८१ मा सैद्धान्तिक छलफलका क्रममा गृहमन्त्री लेखकले सन्तानको आमा नै पहिलो संरक्षक हुने गरेको बताउँदै आमालाई नै जिम्मेवार बनाइएको जानकारी दिए।

“सन्तानको पहिलो संरक्षक आमा नै हुन्। आमाले यो मेरो सन्तान हो। त्यसको बुबाको पत्ता छैन अथवा म ल्याउन सक्दैन भनेर भनेको अवस्थामा आमाले स्वघोषणा गरेको अवस्थामा त्यसको सन्तानलाई नागरिकता उपलब्ध गराउने मूल ध्येय छ”, गृहमन्त्री लेखकले भने, “यसले आमा-महिलाको मात्रै हक स्थापित गरेको होइन। संविधानको सीमारेखाभित्र महिलाको हकलाई पूर्णमा स्थापित गर्ने उद्देश्य पनि हो। सन्तानको पनि हक सुरक्षित गरिएको छ।” उनले आमाको स्वघोषणा गलत सिद्ध भएमा नागरिकताका बारेमा प्रश्न गर्ने र सजायको व्यवस्थासमेत गरिएको बताए। नागरिकता नहुँदा धेरै बालबालिकाहरूले अध्ययन-वृद्धिविकासमा समस्या भएको उनको भनाइ छ।

त्यसैगरी, अंगीकृत नेपाली नागरिकता प्राप्तिसम्बन्धी व्यवस्थामा बाबुका आधारमा विदेशको नागरिकता नलिएको भन्ने नागरिकता प्राप्त गर्ने व्यक्तिले मात्र स्वघोषणा गर्ने व्यवस्था भएकामा निजको आमाले समेत स्वघोषणा गर्नुपर्ने व्यवस्था गरिएको मन्त्री लेखकले जानकारी दिए।

तपाईंको प्रतिक्रिया

थप खबर