मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ २४। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूमाथि पूर्वाग्रह राखेर भ्रष्टाचार मुद्दा दर्ता भएको दाबी गरेका छन्।
पार्टी निकट मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीको भूमिका देखेर आत्तिएकाहरूले भ्रष्टाचारको मुद्दा लगाउन खोजेको आरोप लगाए।
‘नेपालको राजनीतिमा हाम्रो पार्टीको भूमिका महत्वपूर्ण छ, पार्टीको महत्वपूर्ण भूमिका देखेर कतिपय व्यक्तिहरू आत्तिएका छन्’, उनले प्रधानमन्त्री केपी ओलीलाई लक्षित गर्दै भने, ‘पूर्वाग्रह राखेका छन्, बदलाको भावनाले उनीहरूलाई पोलिरहेको छ। त्यसैको एउटा उदाहरण ममाथि भ्रष्टाचारको मुद्दा लगाउन पहल भएको छ।’
नेता नेपालले आफूले कहिल्यै घुस नलिएको र देश तथा जनतालाई घात हुने कुनै अनुचित काम नगरेको दाबी गरेका छन्। उनले भने, ‘मैले भन्ने गरेको छु नबिराउनु, नडराउनु। आफ्नो स्वार्थको लागि कुनै काम भएको छैन भनेर आत्तिनु पर्ने छैन। गलत आरोपमा दृढता साथ उभिन्छौं। मलाई विश्वास छ न्यायपालिकाले मलाई न्याय दिनेछ, हामीले न्यायालयलाई विश्वास गर्नुपर्छ।