मिडियाबाजी डटकम काठमाडौं, माघ ७ । आज प्रतिनिधिसभाको उपसभामुख चयनका लागि निर्वाचन हुँदै छ । यसका लागि दिउँसो १ बजे संसद् बैठक बस्ने छ । सोही बैठकमा उपसभामुख चयनका लागि मत विभाजन गरिने छ । हिजो शुक्रबार उम्मेदवारी दर्ता गरिएको थियो । उपसभामुखमा सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगरले उम्मेदवारी दर्ता गराएकी छन् । नेपाली कांग्रेसका तर्फबाट मुक्ताकुमारी यादवको उम्मेदवारी परेको छ । यादवलाई उपसभामुख बनाउनुपर्ने प्रस्तावमा कांग्रेस सांसद बद्रीप्रसाद पाण्डे प्रस्तावक छन् भने लोसपाका सर्वेन्द्रनाथ शुक्ला र एकीकृत समाजवादीका मेटमणि चौधरी समर्थक छन् ।
रानामगरको प्रस्तावकमा रास्वपाकै सोविता गौतम छिन् भने समर्थकमा माओवादी केन्द्रका नारायणी शर्मा, राप्रपाका राजेन्द्र लिङ्देन र एमालेका कृष्णगोपाल श्रेष्ठ छन् । कांग्रेसले यादवलाई भोट दिन आफ्ना सांसदहरूको नाममा ह्वीप जारी गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले रानामगरको पक्षमा मतदान गर्न सबै सांसदहरूसित अपिल गरेको छ । उपसभामुखमा निर्वाचित हुन तत्काल कायम रहेका सांसदको बहुमत आवश्यक पर्ने प्रतिनिधिसभा नियमावलीमा उल्लेख छ । सत्ता गठबन्धनसँग बहुमत भएकाले उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी रानामगर निर्वाचित हुने निश्चितप्राय छ ।