मिडियाबाजी डटकम काठमाडौँ, साउन ४ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले सम्पूर्ण जलविद्युत आयोजनाहरुलाई आगामी ३ दिन उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागबाट यहि श्रावण ३, ४ र ५ गते देशभर अत्याधिक वर्षा भई नदीहरुमा पानीको सतहले सतकर्ता बिन्दु पार गर्नसक्ने पूर्वानुमान गरेर जलविद्युत आयोजनामा पूर्वतयारीका लागि पूर्वसूचना दिएपछि इप्पानले प्रेस विज्ञप्ति जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।
इप्पान र जल तथा मौसम विज्ञान विभागबीच बाढीको पूर्वसूचना आदान प्रदान गर्ने सम्झौता अनुसार विभागले यस सम्बन्धमा इप्पानलाई पूर्वतयारीका लागि निरन्तर सूचना आदान प्रदान गर्दै आएको छ ।
विभागका अनुसार श्रावण ३ गते साँझदेखि ४ गते बिहानसम्म पूर्वी नेपालमा भारी वर्षा हुनेछ । पूवी नेपालमा कोशी, तामोर, अरुण, तामाकोशी, दूधकोशी, कन्काई लगायतका नदीहरूमा बाढी आउन सक्ने सम्भावना अत्यधिक छ । कोशी नदी सतर्कता तह नजिक वा पार गर्न सक्ने स्थितिमा पुग्न सक्नेछ । पूर्वीनेपालबाट सक्रिय हुने मौसमी प्रणाली पश्चिम नेपालतर्फ अघि बढ्नेछ । ४ गते बेलुका बागमती नदीमा बाढी आई काठमाडौं उपत्यका र तल्ला तटिय क्षेत्र प्रभावित हुनेछन् भने ४ गते बेलुकादेखि ५ गते दिउँसोसम्म महाकाली नदी र त्यसको तटिय क्षेत्रमा बाढी आउनसक्ने सम्भावना उच्च रहेको छ ।