मिडियाबाजी डटकम काठमाडौँ, असार १९ । स्तरोन्नती भइरहेको अरनिको राजमार्गअन्र्तगत साँगा–धुलिखेल सडक खण्डको काम वर्षाका कारण रोकिएको छ ।
मनसुन बाहिरिएपछि पुनः काम सुचारु हुने आयोजनाले जनाएको छ । उक्त सडक खण्डको पुलबजार क्षेत्रमा भने स्थानीयको अवरोधका कारण चार महिनादेखि काम ठप्प अवस्थामा छ । उक्त क्षेत्रको करिब २ सय मिटर क्षेत्रमा विस्तारकार्य रोकिएको सडक विभागको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ । कार्यालयका अनुसार धुलिखेलमा एक किलोमिटर मुख्य सडक पक्की गरिएपनि मनसुनका कारण थप पक्की गर्न सकिएको छैन ।
सबै सामग्री तयारी अवस्थामा रहेपनि वर्षाका कारण धुलिखेलबाट बनेपातर्फको सडक तथा बनेपास्थित जनागाल क्षेत्रमा एक किमी सडक पक्की नगरिएको आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले जानकारी दिए । खनालका अनुसार सडक बिस्तारसँगै बनेपा क्षेत्रमा करिब ५० वटा विजुलीका पोल हटाउनु पर्ने तथा २८ किलोमा एक घर हटाउने काम समेत रोकिएको हो । बनेपा सहरको पूर्वीतर्फ चण्डेश्वरी खोलादेखि बनेपा चारदोबाटोसम्म करिब एक किमी सडकको डल निर्माणकार्य भइरहे पनि बर्षाका कारण काम नै ठप्प अवस्थामा रहेको छ । पुलबजार क्षेत्रमा भने ‘सेन्टर लाइन’ को विषयलाई लिएर स्थानीयले अबरोध जनाएपछि चार महिनादेखि बिस्तारकार्यनै रोकिएको थियो । सेन्टर लाइनबाट दायाँबायाँ ७५-७५ फिट (एक सय ५० फिट)मध्ये पनि एक सय ४० फिटमा काम भइरहेकोमा स्थानीयले दुवै तर्फका घरमा बराबर छुट्याउनुपर्ने विषयमा विवाद निकालेर निर्माणकार्य अबरुद्ध पारेका हुन् ।