मिडियाबाजी डटकम काठमाडौँ, साउन २७ । अमेरिको टेक्सस ड्यालसमा गोलीकाण्डमा एकै परिवारका तीन नेपालीभाषी भुटानी शरणार्थीको ज्यान गएको छ।
२००८/०९ मा शरणार्थी पुनर्स्थापना कार्यक्रम अन्तर्गत ड्यालस आएका ५३ वर्षीय ललित प्रधान, उनकी ३७ वर्षीया पत्नी रजनी श्रेष्ठ प्रधान र तीन वर्षीय छोरा प्रनिश प्रधानको निधन भएको हो।
ललितले पत्नी र छोरालाई गोली हानेर हत्या गरेपछि आफैलाई पनि गोली हानेर आत्महत्या गरेको स्रोतले जनाएको छ। शनिबार बिहान २ः१० मा घटना भएको जानकारी ड्यालस पुलिस डिपार्टमेन्टलाई भएको थियो।
प्रहरी घटनास्थलमा पुग्दा रजनी र प्रनिशको गोलीका कारण निधन भइसकेको थियो भने घाइते अवस्थामा रहेका ललितलाई तत्काल अस्पताल लगेपनि उपचारको क्रममा निधन भएको थियो। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । ललित लामो समय नेपालको विभिन्न भुटानी शरणार्थी शिविरमा बसेर डेढ दशक अघि आइओएम र अमेरिकी सरकारको कार्यक्रम अन्तर्गत अमेरिका आएका हुन्।
उनी अमेरिका आउनु अघिसम्म मोरङ्गको पथरी शिविरमा बस्दै आएका थिए। प्रधानले शनिबार मात्र फेसबुकमा लामो पत्र लेख्दै मेडिकेट लगायतका सुविधाहरू नहुँदा समस्या परेको दुःखेसो गरेका थिए। प्रधान लामो समयदेखि डिप्रेसनमा थिए। रजनी उनको दोस्रो पत्नी भएको र उनको माइती काठमाडौंमा रहेकोले माइती पक्षबाट शव पठाइदिन माग भइरहेको समेत स्रोतले जानकारी दिएको छ।